मंगलवार ४ फाल्गुन, २०७७
फागुन ४, काठमाडौं । देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन सरकारले निषेध गरेको छ ।
सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा उल्लेख गरेको छ ।
स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै केन्द्रले विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको छ ।
सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सरकारले रु.७ अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ । जसअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ ।
कर्णालीमा सरकारले प्रतिविद्यार्थीलाई दैनिक रु. २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु. १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ ।