मंगलवार १५ माघ, २०७५
इनरुवा, माघ १५ । सुनसरीको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता भएको छ । उक्त भैसी प्रतियोगिताक विजेतालाई अर्काे लैनो भैसी उपचार दिइएको छ ।
कोशीकटानमा सम्पन्न भएको प्रतियोगितामा ९० भैसीको सहभागिता रहेको थियो । त्यसमध्ये विन्देश्वर इशरको भैसी विजेता बन्न सफल बनेको हो । विजेता बनेका इशरलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रथम पुरस्कारस्वरुप अर्को लैनो भैँसी प्रदान गरेका हुन् ।
मेयर मेहताले व्यक्तिगत १ एक लाख ५० हजार हालेर सो लैनो भैँसी खरीद गरेको बताएका छन् ।
कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताको अवधारणा पहिलोपटक इनरुवा नगरपालिकाले ल्याएको हो । कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले सो लैनो भैँसी कोशी गाउँपालिकामा आयोजित भैँसी सुन्दरी प्रतियोगिताका विजेताका लागि हस्तान्तरण गरेका हुन् ।
यसैगरी भैँसीका अतिरिक्त गाई सुन्दरी प्रतियोगिता समेत सम्पन्न भएको छ । सो प्रतियोगितामा उत्कृष्ट ठहरिएका गाईधनीलाई नगदसहित सम्मान गरिएको थियो ।