आईतवार १५ बैशाख, २०७६
काठमाडौं, वैशाख १५ । वित्तीय संकटमा गुज्रिरहेको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । कम्पनी नै आर्थिक संकटमा परेका बेला त्यसमा आवद्ध कुनै पनि कर्मचारीहरुले समयमा पारिश्रमिक पाएका छैनन् । त्यसैको मार खेप्न नसकी जेट एयरवेजका प्राविधिक कर्मचारीले भने आत्महत्या नै गरेका छन् ।
५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेको प्रहरीले जनाएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित सिंहले गत मार्च महिनादेखि तलब पाएका थिएनन् । उनका जेठा छोरा पनि जेट एयरवेजमै कार्यरत छन् उनले पनि तलव पाएका थिएनन् ।
चार महिनायता स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शुक्रबार मात्रै उनलाई घरमा ल्याइएको थियो । तर रोगले च्याप्दै गएको अवस्थामा कम्पनीबाट पनि सहयोग त परै जाओस आफूले पाउनुपर्ने रकम पनि नपाउँदा उनी निकै दुःखी दिए । उनले शुक्रबार नै आफ्नै घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
जेट एयरवेजका धेरै कर्मचारीले वित्तीय संकट सुरु भएपछि तनाव भइरहेको बताएका छन् ।